News Griha :: न्यूजगृह
बाँच्ने अधिकार माग्दै बालेन साहविरुद्ध सडक व्यापारीको विरोध

काठमाडौं— सडकमा व्यापार व्यवसाय गर्दै साना व्यवसायी आन्दोलित भएका छन् ।

आइतबार काठमाडौंको सभा गृहअगाडि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाएर साइकल, गाडा, मजदुर उद्यमीका लागि सम्मानजनक वैकल्पिक नीति व्यवस्था माग गर्दै महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

‘इनअफ इज इनअफ’ अभियानको अगुवाइमा भएको प्रर्दशनमा अभियन्ता विनोद देउवाले महानगरका मेयर बालेन साहले फुटपाथे भनेर हेपेको भन्दै सडकमा व्यापार गर्नु रहर नभएर बाध्यता भएको बताए ।

उनले जग्गा बाँझो छाडेर सडकमा बसेको हो भन्ने लागेमा छानबिन गर्न माग गरे । ‘हामी तपाईलाई विकासमा अवरोध गर्न चाहदैनौँ, विरोधी हैनौँ, तपाई फुटपाथे भनेर यसरी नहेप्नुहोस्, मेयर साहेब,’ उनले भने, ‘हामी पनि केही गरौँ भन्ने छ, यस्तो गर्नु भयो भने हाम्रो छोराछोरी भोकै हुन्छन्, अब खाते बनाइदिनी छोराछोरीलाई ? हामी जग्गा बाँझो छोडेर यहाँ बसेका छैनौँ ।’

उनले महानगरको नीतिले १० हजारभन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारलाई गाह्रो भएको बताए । मेयर साहले बिना विकल्प जीविकोपार्जनका लागि काम गर्नेहरूको विजोग बनाएको उनीहरूको आरोप छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:२७
Weather Update