
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन बोलाएको छलफल बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित राष्ट्रिय दलका शीर्ष नेता सहभागी बैठकमा संसद खोल्ने विषयमा छलफल भए पनि निष्कर्षविहीन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बताए ।
प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँगको बैठकमा सोमबार थप छलफलमा जुट्ने सहमति भएको उनको भनाइ थियो ।
बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनु पर्छ भन्नेमा सबै दल सहमत रहेको दाबी गरे । उनले भने, ‘भोलि बस्ने बैठकले यसलाई टुङ्ग्याउँछ, र सदन चल्छ, सीआईबी सही ढंगले अगाडि बढेको छ, सीआईबीले सही ढंगले काम गर्छ भन्ने विश्वास गृहमन्त्रीले दिलाउनु भएको छ, भोलिको बैठकले के गर्ने भन्ने तय हुन्छ ।’
आइतबारको बैठकमा एमालेले समितिको अडान राखेको थियो । योसँगै गृहमन्त्रीले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानबिन प्रभावित हुन सक्ने बताएको लामिछानेले बताए ।
आगामी १५ दिनमात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै साउन १० गतेदेखि बैठक अवरुद्ध गर्दै आएको छ ।













