
काठमाडौं— संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार सक्ने तयारी गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध तीन वटा मात्रै उजुरी परेकाले उजुरीउपर उजुरीकर्ता र सिफारिस श्रेष्ठलाई बैठकमा बोलाएर छलफल गरी समितिको सुनुवाइ टुंग्याउने तयारी गरेको हो ।
समितिका सदस्यहरूले प्रधानन्यायाधीशविरुद्ध धेरै उजुरी नपरेको र परेको उजुरीमध्ये दुई वटा सैद्धान्तिक प्रकृतिको रहेको भन्दै सोमबार नै उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गरी अन्तिम रुप दिने समितिको बैठकले निणर्य गरेको छ ।
‘भोलि उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई वा अन्य विधिबाट उजुरीको पुष्ट्याई, औचित्यता स्पष्ट पार्नका लागि आमन्त्रण गर्ने, प्रस्तावित व्यक्तिलाई पनि आमन्त्रण गरी छलफल गर्ने र सुनुवाइ प्रकृया सम्पन्न गर्नेलगायतका विषयको सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्य तालिका परिमार्जनसहित पारित गर्न अनुरोध गर्दछु,’ समितिका सभापति पशुपति शमशेर राणाले भने ।
गत असार १७ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । समितिले उनको नाम अनुमोदन गरे ०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुने छन् ।













