
मध्यविन्दु— नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुंगा सफारी सञ्चालन गरिने भएको छ ।
गैँडाकोट नगरपालिका–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म ११ किलोमिटरमा डुंगा सञ्चालनको अनुमति पाएसँगै पर्यटकले नारायणी नदीमा डुंगा सफारी गर्न पाएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जले बगैँचा एडभेन्चर रिसोर्टलाई भदौ १ गतेदेखि एक वर्षका लागि डुंगा सफारीको अनुमति दिएको रिसोर्टका सञ्चालक सन्तोष धितालले जानकारी दिए ।
‘रिसोर्टमा आउने पर्यटकलाई गाडामा नारायणी नदीको शिख्रौली घाटसम्म र त्यहाँबाट करिब ११ किलोमिटर डुंगामा सफारी गराएर दिव्यपुरीसम्म पुर्याइने छ,’ उनले भने, ‘डुंगा सफारीपछि पर्यटकलाई दिव्य सामुदायिक वनमा जंगल सफारी गराउने प्याकेज तयार पारिएको छ ।’
होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साँझा पहलमा यस क्षेत्रमा डुंगा सफारी सञ्चालन गर्न लागिएको हो । यसअघि होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको भित्री क्षेत्रमा करिब ५५ किलोमिटर लामो जंगल सफारी सुरु गरिएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका व्यवसायी धितालले गैँडाकोटको हर्कपुरमा करिब ८० करोड रुपैयाँको लगानीमा बगैँचा एडभेन्चर रिसोर्ट सञ्चालन गरेका हुन् ।
‘निर्माणाधीन रिसोर्टलाई कार्ट हाउस (गाडा घर) भनेर चिनाउन खोजिएको छ,’ धितालले भने, ‘वातानुकूलित यो होटलमा बाहिर र कोठाभित्रको तापक्रममा १२ डिग्री फरक हुने छ ।’
फरक शैलीको रिसोर्ट नेपालमा आफूले बनाएको पहिलो रहेको उनले दाबी गरे । ‘होटेलका सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ,’ उनले भने ।
होटेलका पाहुनाले खाना खाने थाल, प्लेट, गिलाससमेत काठबाट नै तयार गरिएको उनले बताए । ‘होटेल पूर्ण रुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने छन्,’ उनले भने, ‘यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने छ ।’













