News Griha :: न्यूजगृह
समस्या औँल्याउने होइन योजना दिने राजनीतिज्ञ चाहिएको छ : गगन थापा

झापा— नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ झापाअन्तर्गत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना दिने राजनीतिज्ञको आवश्यकबारे बोलेका हुन् ।

‘हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको छैन,’ उनले भने, ‘दिगो विकास विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ, समस्या त जसले पनि औँल्याउन सक्छ ।’

महामन्त्री थापाले युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने बताउँदै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन २० वर्षे योजना तयार गर्नु पर्नेमा जोड दिए ।

नेपालको जनसंख्यालाई आंकलन गर्दा अबको २० वर्षमा मुलुक बुढो हुने भएकाले विकास सम्भव नहुने उनको भनाइ थियो । 

जापान, कोरिया जस्ता देशले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका बताउँदै उनले भने, ‘समयमै मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सके मात्रै दिगो विकास हासिल गर्न सकिन्छ ।’

नेविसंघ एउटा स्कुल भएकाले यसभित्र सिक्नु पर्ने थुप्रै सामाग्री रहेको बताउँदै थापाले चेतना र समृद्धिको राजनीतिमा लाग्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:५३
Weather Update