
काठमाडौं— प्रतिनिधि सभाको अवरोध हटाएर संसद सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूलाई सहभागी हुन आह्वान गरिएको थियो ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेबाट सुभास नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सहभागी भएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गरेपछि नेकपा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले बैठक आह्वान गरेका हुन् ।













