News Griha :: न्यूजगृह
प्रस्तावित प्रधानन्यायाधीशको भोलि संसदीय सुनुवाइ हुने

काठमाडौं— संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सोमबार संसदीय सुनुवाइ गर्ने भएको छ ।

समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेको थियो । उक्त आह्वानमा तीन वटा उजुरी परेको थियो । 

समितिको सोमबार बस्ने बैठकको सुरुमा उजुरीकर्तासँग जानकारी लिएपछि प्रस्तावित प्रधानन्यायाधीशको ससदीय सुनुवाइ सुरु हुनेछ । यसअघि बैठकमा परेका उजुरीबारे जानकारी दिन सदस्यहरूलाई त्यससम्बन्धी कागजात वितरण गरिएको थियो ।

संसदीय सुनुवाइका क्रममा उनले आफ्नो योग्यता, अनुभव, कार्य योजना र अवधारणा प्रस्तुत गर्ने छन् । संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:१२
Weather Update