
काठमाडौं— नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले आफू सबैसँग छलफल र परामर्श गरेपछि युरोप भ्रमणमा गएकाो बताएका छन् ।
आइबार पार्टीको पोलिटब्युरोको चौथोँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू युरोप भ्रमण रद्ध गर्न खोजे पनि सबैसँग छलफल गरेपछि गएको दाबी गरेका हुन् ।
‘म, त्यो कार्यक्रम रद्ध गरौँ कि भनेर लाग्या थियो, नभए भोलिपल्ट विरोधीहरूले माधव नेपाल भाग्यो भनेर लेख्लान, प्रचार गर्लान्, भन्ने पनि लाग्यो, त्यसपछि मैले प्रधानमन्त्रीलाई सोधेँ, मेरो भ्रमण रद्ध गरौँ कि के गरौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले कुनै पनि हालतमा तपाईलाई असर पर्ने अवस्था छैन, तपाई जानु, पार्टीको कार्यक्रम सम्पन्न गरेर आउनु भन्नु भएपछि गएको हो ।’
पछिल्लो समय सरकारको निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा अध्यक्ष नेपालको नामसमेत मुछिएको छ ।
यस्तै, बैठकमा बोल्दै अध्यक्ष नेपालले दक्षिण एसियाका अन्य मुलुकमा जस्तै नेपालमा पनि किसान र मजदुरको आन्दोलन सफल हुने विश्वास व्यक्त गरे ।













