News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले राष्ट्रिय दलका नेताहरूसँग छलफल गर्दै, माधव नेपाल बैठकमा जान नपाउने
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधि सभामा निरन्तर हुँदै आएको अवरोध हटाएर संसद सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरू सहभागी हुने छन् । 

राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफलबाट संसदको अवरोध हट्ने प्रधानमन्त्री दाहालको विश्वास छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

संसदमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी रहेका छन् ।

सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले गत निर्वाचमा राष्ट्रिय दलको मान्यता पाउन सकेको थिएन । जसका कारण सत्ता साझेदारी दलका अध्यक्ष माधव नेपाल बैठकमा सहभागी हुन नपाउने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा पास गरी बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलमा बरामद गरेको थियो ।

सोही विषयमा उच्च्स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । सरकार र सत्ता गठबन्धनमा आबद्ध दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले छानबिन गर्ने बताउँदै आएका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:०४
Weather Update