
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक निकायमा हुने ढिलासुस्ती, घुस लेनदेन, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षणसम्बन्धी कानुनी व्यवस्था गर्नु पर्ने बताएका छन् ।
आइतबार १७ औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राज्य संयन्त्रभित्र हुने गरेका गलत काम गर्ने प्रवृतिविरुद्ध सूचना लिने मात्र नभएर दिने संस्कारको विकास गर्नु पर्ने बताएका हुन् । उनले सूचना उपलब्ध गराउनेलाई संरक्षण र सुरक्षा दिर्नु पर्ने भन्दै कानुनको अवश्यकता औंल्याए ।
‘राज्यमा भ्रष्टाचार नियन्त्रणका लागि पनि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक छ,’ उनले भने, ‘सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षणसम्बन्धी कानुनी व्यवस्था गर्न जरूरी भइसकेको छ ।’
यस्तै, उनले विश्वमा आएको नविनतम प्रविधिमा आधारित भएर ‘ब्लकचेन टेक्नोलोजी’को अध्ययन गर्नु पर्ने तथा सार्वजनिक ओहदामा रहेका व्यक्तिको सम्पत्ति तथा व्यक्तिगत विवरण गोप्य राख्ने कानुनी व्यवस्था हटाउनु पर्ने उल्लेख गरे ।
‘विश्वमा भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ‘ब्लकचेन टेक्नोलोजी’को पनि हामीले अध्ययन गर्न आवश्यक छ,’ उनले थपे, ‘अब, सार्वजनिक ओहोदामा रहेका व्यक्तिको सम्पत्तिसहित व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन कानुनी व्यवस्था गर्न जरूरी छ ।’
प्रधानमन्त्री दाहालले नेपालमा सूचनाको हकसम्बन्धी कानुन लागु भएको लामो समय हुँदा पनि नागरिकले अधिकारको प्रयोग गर्न नसकेको स्वीकार गरे ।













