
काठमाडौं— विज्ञ सरोकारवालाको सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’लाई समृद्ध बनाइनु पर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याएका छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघको १८ औँ स्थापना दिवसको अवसरमा आयोजित एक बहस कार्यक्रमका वक्ताले शिक्षा विधेयकमा व्यावसायिक र वैज्ञानिक शिक्षाको सुनिश्चित गरिनु पर्नेमा जोड दिएका हुन् ।
शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षक विधेयक अहिले आउन नसके पुनः पर धकेलिने बताउँदै यसमा छुटेका विषयलाई समेटेर चाँडो पारित गराउनेतर्फ सबै जुट्नु पर्ने बताए ।
उनले विज्ञ सरोकारवालाको सुझाव लिएर शिक्षासम्बन्धी ऐन, नियमावली र कार्यविधि एकै पटक बनाउँदा उपयुक्त हुने सुझाव दिए । ‘संविधानविद, कानुनविद्सँग छलफल गरेर ऐनलाई टुंगोमा पुर्याउनेतर्फ प्राध्यापक बहस चौतारीले पैरवी गर्नु पर्छ,’ उनले भने ।
शिक्षक भातृ संगठन राख्ने कि नराख्ने भन्नेबारे राजनीतिक तहबाट स्पष्ट हुन जरुरी रहेको भन्दै शिक्षाविद् कोइरालाले शिक्षा क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले महासंघसँग छलफल नगरी एकलौटी ढंगले शिक्षक ऐन अघि बढाइएको आरोप लगाए । यस क्रममा उनले अब बन्ने ऐनमा शिक्षाको आगामी रणनीतिक लक्ष्य र उद्देश्य स्पष्ट गरिनु पर्ने माग राखे ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष गुणराज मोक्तानले राम्रो तयारी र छलफलबिना विधेयक आएको र कतिपय प्रावधान अव्यवहारिक रहेकाले विवादित बनेको भन्दै विधेयकमा परीक्षा मूल्यांकन प्रणालीको व्यवस्थालगायतका विषय समेटिनु पर्ने धारणा राखे ।
यसैबीच, संघको स्थापना दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै संघका पूर्वअध्यक्ष प्रा.डा. कुलप्रसाद कोइरालाले संघको विधान कार्यान्वयन र शैक्षिक उन्नयनका लागि यसको भूमिकालाई थप सक्रिय र जिम्मेवारी बनाउन नियमित अधिवेशन हुन पर्ने बताएका थिए ।













