
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना साथै विपक्षी दलका नेता केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर संसदको जारी अवरोध हटाउन आग्रह गरेका थिए ।
झण्डै एक महिनादेखि संसद सुरु नभएपछि राष्ट्रपति पौडेलले सोमबार वा मंगलबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाउने तयारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयले आइतबार प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूको समयलाई ख्याल गरेर बैठक तय गर्ने तयारी गरेको छ । ‘राष्ट्रपतिले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता सहभागी हुने गरी बैठक बोलाउने तयारी गर्नु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘सोमबार वा मंगलबार हुन सक्छ, त्यसको टुङ्गो आज लाग्ला ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गतेदेखि सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
त्यसपछि राष्ट्रपति पौडेलले साउन २५ गते प्रधनमन्त्री, साउन २६ गते सभामुख घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र साउन ३१ गते विपक्षी दलका नेता ओलीलाई बोलाएर छलफल गरेका थिए ।













