
काठमाडौं— सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्रसहित ४ राजनीतिक दल सहभागी समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ ।
सन्देश सभाको स्थान र मिति तय गर्न आइतबार नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय कार्यालयमा मोर्चाको बैठक बोलाइएको हो ।
मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एस, चन्द नेतृत्वको माओवादी ४ दल छन् । बैठकले सन्देश सभाको निर्णय गरी जिम्मेवारीसमेत बाँडफाँट गरी व्यवस्थापनको काम अघि बढाउने छ ।
मोर्चालाई प्रदेश र जिल्ला तहमा विस्तार गर्नका लागि सन्देश सभा गर्न लागिएको हो । मोर्चाका अनुसार प्रदेश र जिल्ला तहमा संयोजन समिति रहने छ ।
कुनै पनि पार्टीका प्रदेशका अध्यक्ष तथा प्रमुखसहित प्रत्येक पार्टीबाट प्रदेशमा ३/३ जना र जिल्लामा २/२ जना रहने छन् । प्रदेश र जिल्लामा सचिवालय पनि गठन गर्ने तयारी छ ।
मोर्चाले कार्यविधि बनाएर ४ पार्टीका अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ । त्यसको मातहतमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेकपा एस उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेको सचिवालय गठन गरेको छ ।
गत असामर ४ गते समाजवादी मोर्चा घोषणा भएको हो ।













