
काठमाडौं— प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने, बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने लगायत सम्भावित कार्यसूची रहेको छ ।
नेकपा एमालेले ६० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ ।
आइतबारको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा भने आशंका कायमै छ । संसद् अवरोध हटाउन सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तर प्रयास गरे पनि एमाले भने आफ्नो अडानबाट पछि हटेको छैन ।













