News Griha :: न्यूजगृह
रुसको मिसाइल आक्रमणबाट युक्रेनमा ६ वर्षे बालिकासहित ७ जनाको मृत्यु, ९० घाइते
Photo: bbc.com/news

काठमाडौं— रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । ९० जना घाइते छन् । मृत्यु हुनेमा ६ वर्षीया बालिकासहित केही बालबालिकाहरू पनि रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

युक्रेनको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले सीमा क्षेत्र नजिकैको सहरमा विश्वविद्यालय र नाटकघरसहितका भवनहरूमा आक्रमण गरेको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदोमिरजेलेन्स्की भने यतिबेला स्विडेन पुगेका छन् । त्यहाँ उनीले प्रधानमन्त्री उल्फक्रिस्टर्सन, शाही परिवार र अन्य अधिकारीहरूसँग भेटघाट गर्नेछन् । 

रुसले भने मस्कोमा युक्रेनले गरेको ड्रोन आक्रमण असफल भएको दाबी गरेको छ । झण्डै दुई वर्ष पुग्न लागेको रुस र युक्रेनको युद्ध विभिन्न विदेशी पक्षको पहलका बावजुद अझै टुंगिएको छैन । घाइतेहरूको उपचार भइरहेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ । आक्रमणमा परी घाइते भएकी ६ वर्षे बालिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

ती बालिकाको आमाको अवस्था भने गम्भीर रहेको सरकारी अधिकारीहरूले बताएका छन् । प्रहरीले ६ वर्षे बालिकाको उद्धार गरी अस्पताल पुर्‍याएका थिए । तर अत्यधिक रक्तस्रावका कारण अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । रुससँग युद्ध सुरु हुनुभन्दा पहिले युक्रेनको चेर्निहिभ सहर ३ लाख मानिसको बसोबास रहेको व्यस्त सहर थियो । हाल रुसको बमबारीका कारण यसका अधिकांश भाग उजाड भूमिको रुपमा परिवर्तन भइसकेका छन् ।एजेन्सी

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २१:२८
Weather Update