
रूपन्देही— उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन् ।
रूपन्देहीमा शनिबार आयोजित एक कार्यक्रममा उनले जनताको अधिकारलाई हातमा लिने तत्कालीन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे ।
नेपाली कांग्रेस ठूलो दल भए पनि पुस १० पछि कांग्रेस कार्यकर्तामा निराशा छाएको बताउँदै खड्काले तत्कालीन प्रतिकूलतालाई सफलतापूर्वक अनुकूलतामा परिवर्तन गरेको जिकिर गरे । नेता खड्काले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले राष्ट्रपतिदेखि चारवटा प्रदेशमा नेतृत्वसमेत गरेको बताए ।
'प्रतिकूलतालाई अनुकूलतामा बदलेर कांग्रेससहितको सहभागितामा पुष्पकमल दहालको नेतृत्वमा सङ्घदेखि प्रदेशसम्म अभियान चलायौँ,' उनले भने, 'यो चार महिना हामी सरकारमा रहेपछिको उपलब्धि समीक्षाको विषय हुनुपर्छ, केही कमीकमजोरी भए यसलाई सच्याउनुपर्छ ।'













