
इलाम— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् ।
ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए ।
‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन,’ उनले भने । नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नु पर्नेमा जोड दिँदै उनले गठबन्धनको बैठक प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नु पर्ने बताए ।
भ्रष्टाचारमा जोडिएका कसैलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ । उनले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनु पर्ने औँल्याए ।
अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णयसमेत पारदर्शी बनाउनु पर्नेमा उनको माग थियो ।
कांग्रेस इलाम नगर कार्य समितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा महामन्त्री थापाले जनता र युवा पिँढीमा रहेको नैराश्यता अन्त्य गर्न कांग्रेसले पहल गर्नु पर्नेमा जोड दिए ।













