६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद

काठमाडौं— आसाम प्रहरीले चार करोड रुपैयाँभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद गरेको छ ।
आसाम–त्रिपुरा सीमामा रहेको आसामको करिमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।
ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यससम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । ‘लागु औषधविरुद्धको हाम्रो अभियान जारी छ, हिजो राति हामीले एउटा ट्रकलाई रोक्यौँ, त्यहाँबाट हामीले प्रतिबन्धित ‘कफ सिरप’का ६१ हजार बोतल बरामद गरेका छौँ,’ जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक प्रताप दासले भने ।
यसअघि करिमगञ्ज जिल्लामा खोकीको प्रतिबन्धित सिरफका ३१ हजार बोतल जफत गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १६:३०













