
काठमाडौं— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन् ।
नेपाल आयल निगम वीरगन्ज शाखाले शनिबारदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गरिने उल्लेख गर्दै बिक्री वितरणलाई सहज बनाइने बताए ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेकाले अब पेट्रोलियम पदार्थको आपूर्ति सहज र व्यवस्थित हुने उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि ट्याङ्करमा ‘टैंकट्रक लकिङ’ लगाउने कार्यसमेत सुरु भइसकेको जानकारी दिए ।
पेट्रोलियम पदार्थको ढुवानी सहज भएसँगै बिक्री वितरणको बिलिङलाई सहज बनाउनका लागि आयल निगमको शाखाबाटै बिलिङ दिने कामको सुरुआत भइसकेकाले अब बिलिङका लागि अमलेखगञ्ज धाउनु पर्ने अवस्थाको अन्त्य हुने मन्त्री रिजालले दाबी गरे ।
वीरगन्जबाट पेट्रोलियम पदार्थको बिलिङ सुरु भएसँगै पर्सा, बारा, रौतहटलगायतका जिल्लाका ढुवानी व्यवसायीलाई सहज हुने उल्लेख गर्दै उनले यसबाट चुहावट नियन्त्रणमा मद्दत पुग्ने बताए ।
यस अवसरमा मन्त्री रिजालले बिलिङ काउन्टरबाट काटिएको पहिलो बिलिङ ढुवानीकर्तालाई प्रदान गरी उक्त कार्यको उद्घाटन गरे ।
निगमको वीरगन्ज शाखाबाट पेट्रोलियम पदार्थको बिलिङ हुँदै आएकामा २०७७ माघदेखि बन्द भएको थियो । अहिले तत्कालका लागि वीरगञ्ज शाखाबाट डिजेलको बिलिङ गरिने र पेट्रोल तथा मट्टीतेलको प्रादेशिक कार्यालय अमलेखगञ्जबाटै हुने व्यवस्था मिलाइएको निगमको वीरगन्ज शाखाका प्रमुख मनोज कुमारले जानकारी दिए ।
वीरगन्जबाट बिलिङ सुरु गर्दा ढुवानी व्यवसायीलाई सहज हुने र ढुवानी खर्चसमेत कम लाग्दा केही मूल्य पनि घट्ने भएकाले यहाँबाट पनि पुनः बिलिङ सुरु गरिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराका प्रमुख विनितमणि उपाध्यायले बताए ।
यसअघि शुक्रबार नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयले दोस्रो चरणको टैंकट्रक लकिङ सुरु गरेको थियो ।













