
काठमाडौं— काठमाडौंको वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
१८४ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिबार एक दिने फोटो प्रदर्शनी आयोजना गरेको हो ।
प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरूलाई चित्रण गर्ने खालका ६० भन्दा बढी तस्बिरहरू समावेश गरिएका छन् । बालबालिकाहरूमा खुसीयाली ल्याउन प्रर्दशनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।
‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा विभिन्न जिल्लाका बालबालिकाहरूले खुुसीका साथ गरेका क्रियाकलापहरू समावेश गरिएको तस्बिरहरू छन् ।
एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुसीका साथ सहभागी भएका बालबालिकाहरूलाई थप उत्साही बनाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको जनाएको छ ।













