News Griha :: न्यूजगृह
पहिरोले अवरुद्ध चामे सडक पुनः सञ्चालन
फाइल तस्बिर- मनाङ जिल्लामा पर्ने सडकमा पहिरो

लमजुङ— पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । मनाङको नासोँ गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै सडक पुनः सञ्चालनमा आएको हो । 

चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, ‘केही दिनअघिको वर्षाका कारण पहिरो आएको थियो, ढुंगा माटो हटाएर सडक पुनः सञ्चालनमा ल्याएका छौँ ।’

सञ्चालनमा आए पनि उक्त सडक खण्डमा यात्रा जोमिखपूर्ण बन्दै गएको छ । जीर्ण सडकमा दैनिक पहिरो जाने क्रम रोकिएको छैन ।  

मनाङलाई सडक सञ्जालसँग जोड्न २०५१ सालमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले सडक निमार्ण थालेको थियो ।

सेनाको कार्यगणले ०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो । झण्डै ६५ किमी दूरी रहेको उक्त सडकमध्ये ३५ किमी लमजुङतर्फ र ३० किमी मनाङतर्फ पर्दछ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:२१
Weather Update