News Griha :: न्यूजगृह
जनमत पार्टीमा प्रदेश सभा सदस्यको मूल्यांकन जारी
फाइल तस्बिर

काठमाडौं— जनमत पार्टीले स्थानीय प्रदेश सभा सदस्यहरूको मूल्यांकनका लागि शनिबार मतदान गराउँदै छ । 

जनमत पार्टीबाट निर्वाचित १६ प्रदेश सभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्यांकन भइरहेको पार्टीका सचिव विपी साहले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेश सभा सदस्यको क्षेत्रमा शनिबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । 

जनमत पार्टीका प्रदेश सभा सदस्यले राम्रो काम गरेको वा नगरेको मूल्यांकन पार्टीका नेता तथा कार्यकर्ताले मतदानमार्फत गर्दै छन् ।

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि पहिलो पटक अनुमोदन मूल्यांकन गर्दैछ ।

‘१६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकारी खटाइएका छन्, साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ,’ सचिव साहले भने ।

पचास प्रतिशतभन्दा कम मत ल्याउनेमाथि ‘राइट टु रिकल’को प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

जनमत पार्टीले यसअघि आफ्ना निर्वाचित स्थानीय जनप्रतिनिधिको अनुमोदन मूल्यांकन गराएको थियो । यस क्रममा २१ जनप्रतिनिधि उत्तीर्ण तथा एक जना अनुत्तीर्ण भएको थियो । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:१०
Weather Update