News Griha :: न्यूजगृह
मासिक एक लाख पेन्सन आउँछ, पैसाले पुग्यो भनेर फर्किएर...

बाग्लुङ— जवानी पल्टनमा बित्यो, उनको । उमेरले बुढ्यौली बनाउँदै लग्यो । तर, केही गर्छु भन्ने हुटहुटीले छाडेको छैन, उनलाई ।

निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलैमैलै छन् । हातका हथौंडा तामाका भाँडा बनाउन चलेकै छन् । 

काठेखोला गाउँपालिका-५, बिहुँको राहले गाउँको सानो झुपडीमा तामाका भाँडा बनाउँदै गर्दा भेटिए सुशील सुनार । उमेरले छ दशक नजिक छन्, उनी । कुराकानीमा सुशील खोतेले पुराना किस्साहरू र अभावले झेलिएका बालापन ।

यो काम गर्ने गाउँमा उनी एक्ला भने होइनन् । गाउँभरि कालीगढ छन् । धेरैले तामा र फलामका भाँडा बनाउँछन् । तर, गाउँकै अरु मेहनती कालीगढभन्दा उनी केही फरक छन् ।

उनले पन्ध्र वर्षको उमेरमा सिकेको यो सीपले जीवन चलाउन कठिन थियो । साथीसंगी र परिस्थितिले उनलाई भारतीय सेनामा पुर्‍यायो । 

सुशील सानै उमेरमा भारतीय सेनामा भर्ती भए । २१ वर्ष भारतीय सेनाको जागिरबाट अवकाश हुँदा उनी युवा उमेरकै थिए । सन् २००० मा आरमोर पल्टनमा हवल्दार रहेका उनी अवकाश भएर घर फर्किए । २१ वर्ष दुःख गर्दा आर्जेको धन सुशीलले बालबच्चाकै हेरचाह र घर खर्चमा सकियो । 

‘मलाई गर्मी मन पर्दैन, बरु गाउँमै जग्गा जोडेँ, बाहिर गइन्,’ उनले भने, ‘बरु हथौडाकै साहरा लिउँ भन्ने लागेको थियो, तै पनि एक पटक विदेश जाउँ भनेर घर छोडियो ।’

बीचको छ वर्ष बाउबाजेका पालामा सिकेको सीप उनले काममा लगाए । गाउँमै बसेर तामा र फलामका भाँडा बनाए । सन् २००६ मा उनी मलेसिया लागे । मलेसियाको क्वालालम्पुर सहरमा आठ वर्ष बिताए ।

‘मासिक ८० हजार रुपैयाँ कमाउँथे, आठ वर्ष बसेपछि पुग्योजस्तो लागेर घर फर्कें,’ सुनारले सुनाए, ‘सेक्युरेटी गार्डको जागिर सजिलै थियो ।’ १५ वर्षको उमेरबाट सुरु भएको उनको मेहनतको यात्रा देश विदेश घुम्यो ।

मलेसियाबाट सन् २०१३ मा नजाने गरी घर फर्किएका सुनार त्यसयता निरन्तर हथौंडाको साथ लिइएका छन् । बिहानबेलुका घरको काम गर्छन् । गोठभरि भैँसी छन् । दिउँसो गाउँकै सामुदायिक भवन नजिकै रहेको झुपडीमा तामा र फलामसँग कुस्ती खेल्छन् ।

‘महिनामा ८०–९० हजार त पेन्सन नै आउँछ, तर छोराहरूको भविष्यका लागि र आफ्नो सिपको सदुपयोगका लागि मेहनत गरिरहेको छु,’ सुनार भन्छन्, ‘खान नपुगेर होइन, जीवन क्रियाशील राख्न र व्यवस्थित बनाउनका लागि मेहनत गर्छु ।’ 

अक्सर मानिस पेन्सन पाएपछि सुखको जीवन खोजी गर्छन् । बसेर आराम गर्छन् तर, सुनारलाई सुविधा, आरामको पटक्कै चाहना छैन ।

‘आफूले दुःख पाइयो, छोराहरूले भोग्न नपरोस् भनेर म मेहनत गर्छु,’ उनले भने, ‘आरनमा बसेर मेहनत गर्दा मलाई आनन्द लाग्छ ।’ 

तामाका गाग्री, ताउलालगायतका भाँडा बनाउने सीप उनीसँँग छ । बञ्चरो, कोदाली, हँसियामा धार लगाउन सीपालु छन् ।

उनले आफूले काम गर्दा गाउँलेले सुविधा पाएको र आफूलाई पनि आर्थिक आम्दानीसहित व्यस्त हुने बहाना मिलेको सुनाए । काम निरन्तर गर्न पाउँदाको महिनामा उनले ७० देखि ८० हजार कमाउँछन् । 

बागलुङ बजारमा एक हजार चार सय किलोमा पाइने तामालाई भाँडाको आकारमा ढालेपछि तीन हजार प्रतिकिलो लिन र दिन कोही पनि नहिच्किचाउने उनले बताउँछन् । 

गाउँघरमा सामाजिक काम, मेला पर्व उनले छुटाउँदैनन् । गोठमा रहेका भैँसीको स्याहारसुसारमा उनले जीवनसाथीलाई सघाउँछन् । सुशील बिहुँका एक कालीगढ मात्रै होइनन्, परिश्रमिकका उदाहरण हुन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ११:२१
Weather Update