
काठमाडौं— रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता पाएको छ । युक्रेनले सदस्य राष्ट्रलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे पनि त्यो सफल भएन् । सदस्य देशको पालो अनुसार रुसले सुरक्षा परिषद्को अध्यक्षता ग्रहण गरेको छ । रुसले सुरक्षा परिषद्को अध्यक्षता गरेपछि युद्धग्रस्त युक्रेनले भने आपत्ति जनाएको छ ।
युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षमा रुस आउनु अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड हानेको जनाएका छन् । उनले भने, ‘युक्रेन सुरक्षा परिषद्का वर्तमान सदस्यहरूलाई रुसले राष्ट्रपति पदको दुरुपयोग गर्ने कुनै पनि प्रयासलाई अनुमति नदिन आग्रह गर्दछ । यो पदमा रुस चयन हुनु गैरकानुनी हो ।’
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सबै १५ सदस्यले पालैपालो एक महिनाको लागि परिषद्को अध्यक्षता पाउने क्रममा रुसले यो पटक अध्यक्षता पाएको हो । तर पालो अनुसार पाउने अध्यक्षता पनि रुसलाई गर्न दिएकोमा युक्रेनले भने आपत्ति जनाएको हो ।
यसअघि रुसले सन् २०२२ को फेब्रुअरीमा अध्यक्षता ग्रहण गरेको थियो सोही अध्यक्षता कायम रहेको समयमा रुसले सोही फेब्रुअरीमा नै युक्रेनमा आक्रमण सुरु गरेको थियो । सुरक्षा परिषद्को नेतृत्व रुसले गरेपछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी गरेको पक्राउ पुर्जीको हैसियतका बारेमा भने टिकाटिप्पणी सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता त्यही देशको राष्ट्रपतिले गरेका छन् जुन देशको राष्ट्रपतिलाई कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । रुसले अध्यक्षता ग्रहण गरेपछि सो पक्राउ पुर्जी औचित्यहीन भएको रुसी अन्तर्राष्ट्रिय विश्लेषकहरूले जनाएका छन् ।













