
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने बताएका छन् ।
शनिबार स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले यस्तो बताएका हुन् ।
उनले संसद गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको बताउँदै शनिबार पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद सञ्चालन हुनेमा आशावादी रहेको बताए ।
‘हामीले निरन्तर पहल गर्दै आएको तपाईहरूलाई थाहा छँदैछ, हिजो मात्रै सभामुख जी बालुवाटार आउनु भयो,’ उनले भने, ‘उहाँसँग कुरा भएको छ, आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ, आशा छ, भोलि सदन खुल्छ ।’
प्रधानमन्त्री दाहालले संसद अवरोध खुलाउन आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको बताए ।













