News Griha :: न्यूजगृह
आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

कास्की— आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ ।

‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता– २०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई हस्तान्तरण गरिएको हो । कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आचारसंहिता तयार गरेको हो।

सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसले जनाएको छ । सन् २०२१ मा कास्कीमा आत्महत्या दर बढी देखिएपछि कोसिसले कास्कीलाई कार्यक्षेत्र बनाएर काम गरेको थियो ।

सञ्चार माध्यममा प्रकाशन, प्रसारण हुने समाचार कारण आत्महत्या गर्नेलाई प्रसय पाएको भेटिएपछि पत्रकार आचारसंहिता आवश्यक ठानी यसको निर्माण प्रक्रिया सुरु गरिएको कोसिसले जनाएको छ । 

आत्महत्याका समाचार सनसनीपूर्ण नबनाउने, सूचनालाई प्रमुख स्थान नदिने र बारम्बार नहोच्याउने, सूचनाको विस्तृत विवरण नदिने वा नखुलाउने, फोटो, भिडिओको प्रकाशन र प्रसारणमा ध्यान दिने, विशेष व्यक्ति, सेलीब्रेटीको आत्महत्या रिपोर्टिङमा विशेष ध्यान दिने, गोपनीयता हकको सम्मान र विश्वसनीय जानकारी एवं स्रोत नखुलाउने जस्ता विषय आचारसंहितामा समेटिएको छ ।  यसको कार्यान्वयनले आत्महत्या दर घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।  

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०८:१०
Weather Update