News Griha :: न्यूजगृह
पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : गगन थापा

इलाम— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन् ।

इलामको फिक्कलमा शुक्रबार आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अब कांग्रेस बदल्न नचाहे कमजोर बन्दै जाने तर्क गरे ।

विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उनको भनाइ छ ।

‘सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँ । संघर्ष गर्छौँ, पार्टी बदलेरै छाड्छौँ’, महामन्त्री थापाले भने,‘कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।’

पार्टी सत्ता र राज्य सत्ताको नेतृत्वमा पटक–पटक एउटै मान्छे पुगे पनि कुनै रुपान्तरण नभएकाले अब कांग्रेस नयाँ तरिकाका साथ जाग्नुपर्ने उनको भनाइ छ ।

‘स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । आज सबैभन्दा ठूलो राजनीतिक दल हामी हौँ,’ उनले भने,‘तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् । यहि तरिकाले ८४ को आम चुनावमा ठूलो पराजयको सिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्ने ?’

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  २२:२८
Weather Update