
मनाङ— हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका स्याउ टिप्न थालिएको हो ।
यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् ।
मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताए । ‘केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ,’ उनले भने ।
1692352381.jpg)
त्यस्तै, नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ टिप्न थालिएको छ । पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिए । उनका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ टिप्ने अवस्था भएको छ ।
मनाङमा उत्पादित स्याउ देशका विभिन्न बजारमा खपत हुने गरेको किसान संगीता गुरुङ तमुले बताइन् । ‘स्याउ स्वादिलो र रसिलो हुने हुँदा स्थानीय बजारमै खपत हुन्छ, विदेशसम्म पुग्नै पाउँदैन,’ उनले थपिन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मनाङमा उत्पादित स्याउ काठमाडौं र पोखराका बजारमा खपत हुने गरेको जानकारी दिए ।
‘लामो बाटो छ, सहज बाटो छैन, जसले गर्दा उत्पादित वस्तुको मूल्य किसानले पाउन सकेका छैनन्, बाटो सहज भए किसानको आय अझ वृद्धि हुन्छ,’ उनले भने ।
1692352403.jpg)
यस क्षेत्रमा वर्षा नभए पनि सुक्खा पहिरो खसिरहने भएकाले स्याउ बजारसम्म पुर्याउन सकस रहेको छ । बाटोका कारण यहाँको स्याउ बजारसम्म पुग्न नपाउँदै कुहिन सक्ने अवस्था छ ।
सडक अवरुद्ध भएमा तत्कालै सहज बनाउनका लागि डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयले विभिन्न स्थानमा स्काभेटर राखेर सहज बनाउने काम गरेको छ ।














