News Griha :: न्यूजगृह
पृथ्वीनारायणको सालिक हटाउँदा गौरव गर्नेहरू यो देशमा छन् : लिङ्देन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको सालिक हटाउँदा गौरव गर्ने जनप्रतिनिधिहरूका कारण देशको अवस्था छर्लङ्ग हुने बताएका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित राप्रपाको चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था जनप्रतिनिधिको रवैयाका कारण छर्लङ्ग हुँदै गएको बताए ।

‘गाई काटेर, गोरु काटेर, भोज भतेर खाएर, भिडियोमा देखाएर, प्रचार गरिरहेका छन्,’ उनले भने, ‘पृथ्वी नारायण शाहको सालिक हटाउने जनप्रतिनिधिहरू गौरव गरिरहेका छन्, देशको अवस्था के छ ? भन्ने यसैले देखाउँछ ।’

अध्यक्ष लिङ्देनले राप्रपा नभए कसले यो हिन्दु राष्ट्रको मुद्दा बोकेर हिँड्छ ? कसले संघीयता खारेजी र राजसंस्था पुर्नस्थापनाको मुद्दा कसले बोक्छ ? भन्ने प्रश्न गरे ।

उनले भने, ‘यदि, कसैले राप्रपा फुटाउने गुट बनाउने कल्पना मात्रै गर्छ भने त्यो बौलाउँछ, त्यसलाई जनता र कार्यकर्ताको श्राप लाग्छ ।’

अध्यक्ष लिङ्देनले कसैलाई हार्ने मर्ने र पछि हट्ने छुट नभएको भन्दै जसरी पनि अगाडि बढ्नु पर्ने बताए ।  

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १४:५३
Weather Update