News Griha :: न्यूजगृह
टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर भ्रष्टाचार मुक्त हुन्न : मन्त्री गुरुङ 

काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकमा भ्रष्टाचार रोक्न टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकमा सुशासन पहिलो शर्त हुनु पर्ने बताए ।

‘यो मुलुकमा सुशासन स्थापना गर्नका लागि, यो मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरूको हातमा मात्र हत्कडी लगाएर हुँदैन,’ उनले भने ।

यस क्रममा मन्त्री गुरुङले भाषणभन्दा काम गर्नु पर्ने बेला आएकाले व्यवहारिक काम गरेर समस्याहरूसँग लड्नु पर्ने बताए ।

‘मुलुक सुधार्न आफै सुध्रिन आवश्यक छ, आफैले व्यवहारिक भएर देखाउनु पर्छ,  भाषण त सबैले गर्छन्, भाषण गरेर कोही थाक्दैनन्,’ उनले भने, ‘भाषणले मात्र चिउरा भिज्दैन् नि ? त्यसैले अहिले हामीले गफभन्दा काम गर्नु पर्ने बेला आएको छ ।’

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १४:३०
Weather Update