News Griha :: न्यूजगृह
संघीय निजामति सेवा ऐन ठूलो आर्थिक भार पर्ने गरी आउँदैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं— उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामति सेवा ऐन ठूलो आर्थिक दायित्व पर्ने गरी सहुलियत र सुविधाहरूलाई समावेश गरेर नआउने बताएका छन् ।

काठमाडौंमा शुक्रबार भएको नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका खड्काले सुविधाहरू समावेश नहुने बताएका हुन् ।

मन्त्री खड्काले यस पटकको संघीय निजामति ऐन बनाउँदा मुलुकको अर्थतन्त्रको प्रतिकुलताका कारण धेरै ठूलो आर्थिक दायित्व पर्ने गरी  सुविधाहरू समावेश गरेर ल्याउन नसक्ने बताए ।

उनले लोकसेवाले सहमति दिएको सात दिनभित्रमा संघीय निजामति सेवा ऐन संसदमा दर्ता हुने स्पष्ट पारे । यस क्रममा उनले संघीय निजामति सेवा ऐन सबैलाई उत्साहित बनाउने दाबी गरे ।

‘संघीय निजामति ऐन बनाउँदा अहिलेको मुलुकको अर्थतन्त्रको प्रतिकुलताका कारण धेरै ठूलो आर्थिक दायित्व पर्ने गरी सहुलियत र सुविधाहरू आउन सक्दैनन्,’ उनले भने, ‘लोकसेवाले सहमति दिएको सात दिनभित्रमा संघीय निजामति सेवा ऐन संसदमा दर्ता हुन्छ, ऐन सबैलाई उत्हाहित हुने गरी आउने छ ।’

उनले अहिले मुलुकको संविधानले दिएको अधिकारको संरक्षण हुने गरी संघीय निजामति सेवा ऐनलाई परिष्कृत र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १४:०१
Weather Update