News Griha :: न्यूजगृह
चीन भ्रमणमा उर्जा क्षेत्रका दूरगामी र महत्वपूर्ण सम्झौता हुन्छ : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताएका छन् । 

यस क्रममा उनले भारत र बंगलादेशसँगको त्रिपक्षीय साझेदारीले नेपाली हित अनुकूल परिस्थिति बन्दै जाने विश्वास व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाइने बताए । 

उनले यही समझदारीबाट उल्लेख्य परिमाणमा नेपाल-बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बन्ने दाबी गरे ।

‘यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ, र अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले मित्रराष्ट्र भारतसँगको उक्त समझदारीलाई मूर्त रूप दिन  सम्बन्धित निकायहरू भारतीय पक्षसँग लगातार सम्पर्क र समन्वयमा रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १२:३७
Weather Update