
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन सहमति गर्नु पर्ने बताएका छन् ।
शुक्रबार सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेसँगको छलफलमा प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्ने बताएका हुन् ।
‘म पनि सदन खुलाउन भूमिका खेल्छु, तपाई पनि लाग्नुहोस्, छिट्टै सहमति गर्नै पर्छ, म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ उनले भने ।
छलफलमा सभामुख घिमिरेले कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिन आग्रह गरे ।
‘सदन नचल्नु राम्रो भएन, माननीयहरूले बोल्न समय माग्नु भएको छ, प्राकृतिक विपत्तिलगायत धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ, दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,’ उनले भने, ‘कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्, सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु, तर परिणाममा निस्किन सकेन, शीर्ष नेताहरू घण्टौ बस्दा सहमति भएन ।’
सदन अवरोध भएपछि प्रधानमन्त्रीसँग सभामुखले यसअघि विभिन्न चरणमा पाँच पटक छलफल गरिसकेका छन् ।













