
काठमाडौं— बंगलादेशबाट एकै पटक सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरू जहाज चार्टर्ड गरेर आउन लागेका हुन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार शुक्रबार र शनिबार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् ।
यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए ।
नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।
राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे ।
एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो । नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो ।
ठूलो संख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटकको प्रचार-प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले बताए ।
कोभिड–१९ पूर्व र कोभिड अवधिमा समेत अधिक संख्यामा बंगलादेशी पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महिनामा बंगलादेशबाट १३ हजार ६२४ पर्यटक नेपाल आएका थिए ।
यसअघि सन् २०२२ मा बंलादेशबाट २५ हजार ३८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कूल पाँच लाख ३४ हजार २०७ विदेशी पर्यटक भित्रिएका छन् ।













