News Griha :: न्यूजगृह
शिक्षा विधेयक सच्याउन विद्यालय व्यवस्थापन समिति महासंघको माग

हेटौँडा— सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संसदमा पेस हुन बाँकी रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघले बाग्मती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित ध्यानाकर्षणपत्र बुझाएको हो । मन्त्री मोक्तानले ध्यानाकर्षण पत्र बुझ्दै सम्बन्धित निकायमा पत्र पठाउने र प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय गर्न तयार रहेको बताइन् ।

संघीय शिक्षा ऐन जारी गर्न प्रदेश सरकारका तर्फबाट पनि आवश्यक पहल गर्न माग गर्दै महासंघ नेपालले बाग्मती प्रदेश सरकारसमक्ष ध्यानाकर्षण गराएको थियो ।

सरोकारवालासँग छलफल र परामर्शबिनै विधेयकको मस्यौदा तयार पारिएको भन्दै महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विधेयकको मस्यौदामा विद्यालय व्यवस्थापन समितिसम्बन्धी व्यवस्था त्रुटिपूर्ण रहेको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता, संलग्नता र भूमिका नरहने बुझिएको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समिति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विधेयकको मस्यौदामा वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने व्यवस्थाले सामुदायिक विद्यालयको मर्ममाथि प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागिताको अधिकारमाथि हस्तक्षेप भएको, सामुदायिक विद्यालय अभिभावक, सामुदायको हातबाट खोस्ने प्रयास भएको र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने देखिएको महासंघका सचिव मोहमद समिमले बताए । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:५०
Weather Update