News Griha :: न्यूजगृह
प्रभु साहको चेतावनी— देशको अवस्था यस्तै रहिरहे विद्रोह हुन्छ

रौतहट— आम जनता पार्टी अध्यक्ष प्रभु साहले सरकारको मधेस विरोधी व्यवहार र मधेसी जनतासँग गर्ने पक्षपातको कारण तराई मधेसमा वर्षेनी डुबानको समस्या हुने गरेको बताएका छन् ।

बिहीबार मौलापुर नगरपालिकामा निर्माण भएको शहीद स्मृति बहुद्देश्यीय भवनको उद्घाटन गर्दै साहले पहाडमा हुने वर्षाको कारण तराई मधेस डुबानमा पर्ने गरेको बताए । उनले पहाडका मानिस र सरकारले तराई मधेस डुबानको समस्या बारेमा गम्भीर चिन्तन र मनन गर्नु पर्ने बताए ।

prabhushah1692329646.jpg

सरकारले मधेसलाई बाढीबाट जोगाउन दीर्घकालीन कुनै ठोस कदम नचालेकाले र हरेक वर्ष तराई मधेसमा बाढीको कारण जनधनको क्षति हुने गरेको उनको भनाई थियो । त्यस्तै डुबानबाट बालीनाली नोक्सान हुने गरेको बताउँदै साहले सरकारको मधेस विरोधी व्यवहारका कारण डुबान लगायतका समस्या निरन्तर बढिरहेको दाबी गरे ।

देशमा बढिरहेको आर्थिक समस्याप्रति सरकार नै दोषी रहेको आरोप लगाउँदै नेता साहले सरकारले बेरोजगारी बढाएर बेरोजगारीको व्यापार गरेको आरोप लगाए। यसैगरी नेता साहले राजनीतिक व्यवस्था र अस्थिरताको कारण नै देशको आर्थिक अवस्था चिन्ताग्रस्त बनेको बताए ।

public rautahat1692329647.jpg

फरक प्रसङ्गमा साहले सरकारको गलत नीतिको कारण गाउँमा आर्थिक कारोबार बन्द भएको बताए । सरकारले सर्वसाधारणलाई बैंकमार्फत ऋण नदिएको तथा गाउँको ऋण लेनदेन पनि प्रभावित भएको उनको भनाई छ । देशको यस्तै अवस्था रहिरहे जनता चुप लागेर नबस्ने उनको दाबी छ । नेता साहले समस्यामा परेकाहरू समाधानको लागि चुप लागेर नबस्ने बरु विद्रोह गर्ने चेतावनी दिए । 

पुर्व मन्त्रीसमेत रहेका साह रौतहट क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।  

rautahat building1692329647.jpg
शहीद स्मृति बहुद्देश्यीय भवन । शहरी विकास मन्त्रालयको २७ करोड ५६ लाख रुपैयाँमा निर्माण भएको हो  ।

सञ्जय सहनीको सहयोगमा ।  

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:१६
Weather Update