News Griha :: न्यूजगृह
पढ्दै कमाउँदै कार्यक्रमले आत्मनिर्भर हुन सिकायाे : विद्यार्थी
फाइल तस्बिर

भोजपुर— भोजपुरमा रहेको यशोधरा माध्यमिक विद्यालयमा अध्ययनरत मनिराज लुइँटेल अहिले सफल व्यवसायी जस्तै बनेका छन् । लुइँटेल सोही विद्यालयमा बाली विज्ञान संकायतर्फ कक्षा १२ मा अध्ययनरत छन् ।

विद्यालयमा अध्ययन मात्र नभएर पढ्दै कमाउँदै कार्यक्रम सुरु भएपछि विद्यार्थीमा उत्साह देखिएको विद्यालयका शिक्षक दीपेन्द्र श्रेष्ठले बताए ।

विद्यालयमा हाल बाली विज्ञानतर्फ ६४ विद्यार्थी अध्ययनरत छन् । शिक्षकले कक्षामा अध्ययन गराएको विषय फिल्डमा अभ्यास गर्न सकिने भएकाले विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको बाली विज्ञान शिक्षक सुरजकुमार शाह रौनियारले बताए ।

‘विषयगत ज्ञान त विद्यार्थीमा हुन्थ्यो नै तर विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएकाले विद्यार्थीमा उत्साह छ’,उनले भने,‘पढ्दै कमाउँदै कार्यक्रमबाट भएको आम्दानीले विद्यार्थीलाई अध्ययनमा टेवा मिल्ने छ ।’

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले मौरीपालन, माछापालन, तरकारी, खोर्सानीलगायतका खेती गर्दै आइरहेका छन् । अध्ययनसँगै बारीमा अभ्याससमेत गर्न पाएकोमा आफूहरूलाई थप ज्ञान मिलेको बाली विज्ञानअन्तर्गत कक्षा १२ मा अध्ययरत बिनिता राईको भनाइ छ ।

उनले भनिन्,‘सबै कार्यमा विद्यार्थी सामेल हुने भएकाले कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बनाउन पनि सिकाएको छ ।’

भोजपुरका दुई सामुदायिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा मावि र रामप्रसाद राई गाउँपालिका–३, भुल्केको पञ्चकन्या माविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमका सञ्चालनमा रहेको छ ।

यशोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुव रेग्मीले भने,‘भोजपुर जिल्लाका दुई विद्यालयमा कार्यक्रम सुरु भएको छ, तोकिएको मापदण्ड र कार्यविधिअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेकोमा त्यहाँको निर्देशक समितिको बैठकले भोजपुरका पनि दुई सामुदायिक विद्यालय छनोट गरेको थियो ।

विद्यार्थी आफैंले बारी खनेर विभिन्न खेती लगाउने गर्दै आएको बताउँदै प्रधानाध्यापक रेग्मीले पढाइका अतिरिक्त विद्यार्थीलाई अतिरिक्त ज्ञान पनि आवश्यक पर्ने र सो कार्य पढ्दै कमाउँदै कार्यक्रमले पूरा गरेको बताए ।

कार्यक्रमका लागि छनोट भएका विद्यालयमा बाली विज्ञानको पठनपाठन हुँदै आएको छ ।

सञ्चालनका लागि छनोटमा परेका विद्यालयलाई अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान हुनेछ । यो कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्दे पढ्न र सिक्नका लागि थप प्रेरणा मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद कार्कीले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०७:३७
Weather Update