
काठमाडौं— सरकारले चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १३ हजार आठ सय ९३ पुर्याएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले निर्धारण गरेको पारिश्रमिक शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको हो ।
वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र ६ हजार चार सय ८० महंगी भत्ता रहेको छ ।
प्रतिघण्टा ८९, दैनिक ६ सय ६८ र आंशिक समय मात्र काम गर्ने श्रमिको प्रतिघण्टा ९५ पारिश्रमिक निर्धारण गरिएको छ ।
चिया बगानका श्रमिकका हकमा आठ हजार नौ सय ३४ आधारभूत र चार हजार नौ सय ५९ महंगी भत्ता गरेर मासिक १३ हजार आठ सय ९३ न्यूनतम पारिश्रमिक तोकिएको हो ।
चिया बगानका श्रमिकलाई आधारभूत र महंगी भत्ता जोडेर दैनिक पाँच सय पारिश्रमिक निर्धारण गरिएको छ ।
चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको समेत दैनिक भत्ता ६३ निर्धारण गरिएको छ ।
उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ति पत्र र श्रमिकले पाउने सञ्चयकोष, उपदानलगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ ।













