
इलाम— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एकपटक आफूहरूलाई अवसर दिन आग्रह गरेका छन् ।
इलामको फिक्कल चोकबजारमा आयोजित पार्टीको खुला जनसभामा सभापति लामिछानेले आगामी २०८४ मा हुने निर्वाचनमा विजयी गराइ एकपटक अवसर दिन आग्रह गरेका हुन् ।
‘काम गर्न सकेनौँ भने यो क्षेत्र घण्टी निषेधित बनोस्’,उनले भने,‘इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, कृषि, उद्योग, शिक्षा, सडक हरेक क्षेत्रको विकास हुन सकेको छैन ।’
उनले आफूहरूले सरकारको नेतृत्व गर्ने अवसर पाए सुन तस्करी, ललिता निवासलगायतका प्रकरणबारे छानबिन गर्ने दाबी समेत गरे । रास्वपाको उदयबाट आत्तिएकाले आफूहरूविरुद्ध हमला गरिरहेको उनको भनाइ छ ।
‘हामीलाई सिद्धान्तविहीन पार्टी भन्दै खेदो खन्ने गरेका छन्’,उनले भने,‘गुणस्तरीय शिक्षा, घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह नै हाम्रो सिद्धान्त हो ।’ उनले शान्त विद्रोह गरेर आगामी निर्वाचनमा रास्वपालाई विजयी बनाउन आग्रह समेत गरे ।













