News Griha :: न्यूजगृह
डेंगु संक्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु संक्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ ।

महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले दैनिक डेंगु संक्रमण बढिरहेकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन् ।

उनले अस्पतालमा डेंगु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार डेंगु संक्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ ।

यस्तै डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको संक्रमणको कारणले निधन भइसकेको छ ।  सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ । सुनसरी जिल्लामा मात्र कुल संक्रमितको ५२ दशमलव दुई प्रतिशत रहेका छन् ।

महाशाखाका निर्देशक डा.मरासिनीले डेंगु संक्रमणको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएका छन् ।

डेंगु रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेंगु रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेंगु रोकथाम तथा नियन्त्रण कार्ययोजनाअुनसार कार्य गर्न र डेंगु रोगको निदानका लागि आवश्यक किटको सुनिश्चितसमेत गर्न अस्पताललाई भनिएको छ ।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २२:०८
Weather Update