
काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले प्रदेशस्थित सामाजिक विकास मन्त्रालय अगाडि बिहीबार धर्ना दिएका छन् ।
नेपाल शिक्षक महासंघले सुरु गरेको आन्दोलनअन्तर्गत शिक्षक कर्मचारीले बिहीबार ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका हुन् ।
यसअघि २८ गते पालिका र ३० गते शिक्षा विकास र समन्वय इकाईमा महासंघले धर्ना दिएको थियो । प्रस्तावित शिक्षा ऐन सच्याउन माग गर्दै महासंघले आइतबारदेखि आन्दोलन सुरु गरेको हो ।
बिहीबार सबै प्रदेशका महासंघ तथा यसका आबद्ध/सम्बद्ध संस्थाका प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू जम्मा भई सामाजिक विकास मन्त्रालयमा ३ घण्टा (११:०० बजे देखि २:०० बजेसम्म) धर्ना दिएका थिए ।
धर्ना समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारी पत्र पेस गरिएको छ । कार्यक्रमको संयोजन महासंघको प्रदेश समिति तथा आबद्ध/सम्बद्ध संस्थाका प्रदेश समितिले गरेका थिए ।













