News Griha :: न्यूजगृह
प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढ्यो, आवेदन माग

खोटाङ— खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

नगरपालिकाको कार्यविधि, नगर शिक्षा ऐन र संघीय शिक्षा ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले सूचना निकालेको हो ।

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै साउन ७ गते बसेको नगर कार्यपालिकाको बैठकलले सबै प्रधानाध्यापकलाई हटाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले तत्कालीन प्रधानाध्यापकहरुले निमित्तको रुपमा विद्यालयको कामकाज गरिरहनुभएको मेयर तीर्थराज भट्टराईले बताए ।

विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले बुधबार सूचना प्रकाशन गरेको छ । माध्यमिक तह, आधारभूत तह को (कक्षा १–८) र (कक्षा १–५) सम्मको विद्यालयका लागि नगरपालिकाले छुट्टाछुट्टै सूचना निकालेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयको ‘प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि २०८०’ अनुसार योग्यता पुगेका इच्छुक उम्मेद्वार तथा शिक्षकले भदौ १३ गतेभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

माध्यमिक तहको विद्यालयको प्रधानाध्यापक हुनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरेको वा शिक्षकको रुपमा १० वर्ष स्थायी सेवा अवधि पूरा भई स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

माध्यमिक तथा निम्न माध्यमिक तहको शिक्षक पदमा १ वर्ष स्थायी सेवा अवधि पूरा गरेको र प्राथमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पूरा भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

आधारभूत तह कक्षा (१–८) को लागि प्रधानाध्यापक हुन मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको, निम्न माध्यमिक तहको शिक्षक पदमा १ वर्ष स्थायी सेवा अवधि पूरा गरेको र प्राथमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पूरा भएको हुनुपर्नेछ ।

आधारभूत तह कक्षा (१–५) को लागि प्रधानाध्यापक हुन मान्यताप्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह/कक्षा १२ सो सरह उत्तीर्ण गरेको, प्राथमिक तहको शिक्षक पदमा कम्तीमा १ वर्ष स्थायी सेवा अवधि पूरा गरेको हुनुपर्ने सूचनामा भनिएको छ । योग्यता पुगेका शिक्षकहरुबाट निवेदन आइसकेपछि लिखित परीक्षा र अन्तर्वार्ताबाट प्रधानाध्यापक छनोट हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १८:०५
Weather Update