
काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो नभई विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिन नसक्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा पत्रकारसँग बोल्दै उनले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको संरक्षणबिना बाहिरिन नसक्ने दाबी गरेका हुन् ।
यस क्रममा नेता सिंहले दुई वटा मोबाइल र दुई तोला सुन नछाड्ने विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए । उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठनको माग गरे ।
‘एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभई एक क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ?,’ उनले भने, ‘त्यसलाई छान्नका निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनु पर्छ ।’
भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको ‘ब्रेक शु’सहित १५५ किलो सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो ।
उक्त सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।













