
काठमाडौं— कृषि तथा पशुपंछी मन्त्री बेदुराम भुषालले पशुमा लाग्ने लम्पी स्किन रोग निणन्त्रणमा आउन लागेको दाबी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले विस्तारै रोग नियन्त्रण हुँदै गएको भन्दै संकट टरेको दाबी गरे ।
‘अब यो रोगले संकटमा जाँदैन, नियन्त्रणमा आइसक्न लागेको छ, गर्मी लाग्दै गर्दा मौसमको कारणले पनि, यसको असर पछि नपरोस् भनेर पूर्व तयारी गर्ने छौँ,’ उनले भने ।
उनले देशमा पशु सेवा जनशक्ति कम भएको स्वीकार्दै पहिलो पटक १६१ पालिकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको जानकारी दिए ।
‘हामी तितो सत्यलाई स्वीकार्नु पर्छ, हामीसँग पशु सेवा जनशक्ति कम छ, संघीय बजेटमा १६१ जना माग गरेको छौँ,’ उनले भने, ‘१६१ पालिकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको छु, यो पहिलो पटक हो ।’
गम्भीर विषयमा बजेट छैन भनेर मुक्ति नपाउने बताउँदै उनले पालिकाहरूमा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको जानकारी दिएका हुन् ।
‘गाईबस्तु पाल्ने गरिब निमुखाका लागि राज्य नउभिने हो भने उनीहरूको दिन आउँदैन, क्षतिपूर्ति पनि हुनुपर्छ, हल गोरुकै मृत्यु भयो भने केले खेती गर्ने ?,’ उनले थपे, ‘मन्त्रालयले केही गर्न सक्ने कि नसक्ने ? सामर्थ्य छैन भने समितिले के गर्नु पर्ने हो ? हामीसँग बजेट छैन भनेर मुक्ति चाहिँ पाइदैन ।’
पशु चौपायामा देखा परेको लम्पी स्किनको रोकथामबारे समितिमा भएको छलफलमा अधिकांश सदस्यहरूले रोग रोकथाम गर्न सरकारले गरेको प्रयास र क्षतिपूर्तिबारे प्रश्न उठाएका थिए ।













