
रामेछाप— तत्कालीन सरकार र विद्रोही माओवादीबीच युद्ध विराम भएको बेला दोरम्बामा २१ जना माओवादी नेता/कार्यकर्ताको हत्या भएको २० वर्ष भयो । दाङको हापुरेमा सरकार र विद्रोही माओवादीबीच शान्तिवार्ता चलिरहेको थियो ।
वार्ता सकारात्मक हिसाबले अघि नबढे पनि भङ्ग भइसकेको थिएन । वार्ता चलिरहेको बेला दुवै पक्षबाट युद्ध विराम उल्लङ्घनका घटना भइरहेका थिए । त्यही समयमा २०६० साल साउन ३२ गते दोरम्बा हत्याकाण्ड भयो । त्यसपछि युद्ध विराम भङ्ग भयो ।
२०६० साउन ३१ गते राति रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको नेपाली सेनाको ब्यारेकबाट मेजर राममणि पोखरेलको नेतृत्वमा टोली अपरेसनको लागि निस्कियो । सेनाको टोली रातभरि हिँडेर बिहान तत्कालीन दोरम्बा गाविसको दोरम्बा बजारमा पुग्यो । दोरम्बा बजार नजिकैको एउटा घरमा माओवादीको बैठक र वैवाहिक कार्यक्रम छ भन्ने सेनालाई पूर्व जानकारी थियो ।

राति बैठक गरेर बिहान वैवाहिक भोजको तयारी स्वरूप मासुभात पाक्दै थियो । युद्ध विरामको बेला भएकोले सेना आउला भन्ने माओवादीले सोचेका थिएनन् । आए पनि आक्रमण गर्छ भन्ने डर उनीहरूलाई थिएन । चारैतिर कुहिरोले ढाकेकोले नजिकै पनि केही देखिँदैनथ्यो । साउन ३२ गते बिहान दोरम्बा बजार पुगेको सेना, माओवादी बसेको घर सोध्दै खरिढुंगा पुग्यो ।
सेनाको टोलीले घरको बाहिर सेन्ट्री बसेकालाई गोली हानी ढाल्यो । बाहिर गोली चलेपछि तत्कालीन जिल्ला सेक्रेटरी हरिप्रसाद दाहाल ललित र अर्का नेता मैनकुमार मोक्तान भागे । बाँकी १९ जनालाई सेनाले नियन्त्रणमा लियो । जसमा माओवादीका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा लगायत जिल्लास्तरका नेता थिए । डोरीले सबैका हात पछाडि बाँध्यो । त्यहाँबाट झण्डै ४५ मिनेट टाढा डाँडाकटेरीमा पुर्याएपछि १९ जनालाई नै लाइन लगाएर गोली ठोकी सेनाले हत्या गरिदियो । एक जनाको शव पछि घटनास्थल भन्दा तल खोलामा भेटिएको थियो । सो हत्या काण्डपछि माओवादीले युद्ध विराम भङ्ग भएको औपचारिक घोषणा गर्यो ।
दोरम्बा हत्याकाण्डपछि माओवादीले सुराकीको आरोपमा एक स्वास्थ्यकर्मी सहित दुई जनाको हत्या गरे । धेरै मानिसहरूलाई कारबाही गर्ने भन्दै नाम सार्वजनिक गरे । त्यसपछि दोरम्बाका मानिस रातारात घर छाडेर भागे । दोरम्बा सुनसान बन्यो । घर खाली भए । खाली घरको संरक्षण भएन । वर्षामा पानी चुहिएपछि धेरै घरहरू भत्किए । बचेका पनि मान्छे बस्न लायक भएनन् । त्यति बेला भागेका धेरै मानिसहरू काठमाडौंमा नै स्थापित भए । उनीहरू गाउँ फर्कन चाहेनन् । त्यसैले अहिले पनि दोरम्बा खण्डहर बस्ती जस्तै छ ।
दोरम्बा अहिले विगतको पीडालाई बिर्सने प्रयत्न गर्दैछ । डाँडाकटेरी जहाँ माओवादीका १९ जना नेता कार्यकर्ता मारिएको थियो त्यहाँ उनीहरूको स्मृतिमा सालिक राखिएको छ । त्यसको पनि खासै स्याहार र संरक्षण हुन सकेको छैन । वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार हुँदा सालिक राखिएको हो ।
विगतको पीडालाई बिर्साउन सरकारले दोरम्बालाई पर्यटन गन्तव्य गाउँ घोषणा गर्यो । दोरम्बालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन गन्तव्यको गाउँ घोषणा गर्यो तर पूर्वाधारका खासै काम भएन । सुरु भएका काममा पनि उचित अनुगमन नहुँदा अनियमितता भयो । बजेट आयो, सकियो ।
दोरम्बामा पर्यटकीय पूर्वाधारका लागि होमस्टे लगायतका केही काम भएका छन् । दोरम्बामा शैलुङ,अग्लेश्वरी,कण्ठेश्वर गुफा, तालाच्यु गढी, डाँडाकटेरी, शान्ति पार्क, तामाङ र थामी जातिको संस्कृति लगायतलाई जोडेर पर्यटन गन्तव्यको विकास गर्ने योजना त बन्यो तर कार्यान्वयन प्रभावकारी हुन सकेन ।













