स्मृति दिवस मनाउन दोरम्बा पुगे प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार रामेछापको दोरम्बा पुगेका छन् । दोरम्बा स्मृति दिवस र पार्टीगत कार्यक्रममा सहभागी हुन उनी रामेछाप पुगेको उनको सचिवालयले जनाएको छ ।
तत्कालीन सरकार र नेकपा माओवादी केन्द्रबीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो । दोस्रो युद्धविरामकै समयमा साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादीहरूको हत्या गरेको थियो ।
सोही दिनको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आएको छ । प्रधानमन्त्री दाहालले दोरम्बामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर जिल्लाका अन्य राजनीतिक गतिविधिमा सहभागी हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १३:०७













