अर्थमन्त्री महतको टिप्पणी— प्रमुख प्रतिपक्षीबाट संसद्लाई प्रभावहीन बनाउने काम भयो
धनुषा— अर्थमन्त्री डा. प्रकाश शरण महतले नेकपा एमालेले अनाहक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाउने काम गरिरहेको टिप्पणी गरेका छन् ।
बिहीबार जनकपुरधाममा पत्रकारहरूसँग उनले एमालेको अनावश्यक संसद् अवरोध गरिरहेकाले महत्त्वपूर्ण विधेयकहरू ओझेलमा परेको बताए । महतले आफूहरू सरकार बाहिर रहँदा कहिल्यै संसद् अवरोध नगरेको तर एमाले सरकारबाट बाहिरिने बित्तिकै अनावश्यक संसद् अवरोध गरिरहेको बताए ।
सङ्घीयता, सङ्घीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकाले अनावश्यक संसद् अवरोध छोडेर प्रक्रियामा आउन उनले एमालेलाई आग्रह गरे ।
अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आएको बताए । अर्थतन्त्र अब गति लिइरहेको र राष्ट्र बैँकले समेत ब्याज घटाउँदै गइरहेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १२:१८