News Griha :: न्यूजगृह
पहिरोले कालीगण्डकी कोरिडोरमा अलपत्र परे यात्रु
ढोरपाटन सडक खण्डमा गएको पहिरो

ढोरपाटन— भारी वर्षासँगै पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । 

लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका-४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो । 

बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ । वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने उनको भनाइ थियो ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका स्थानबाट बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौंलगायतका स्थानमा पुग्ने यातायातका साधन ठप्प छन् । 

यात्रु बाटोमै अलपत्र परेका छन् । काठमाडौंदेखि पूर्वी रुकुम र निसीखोलाको विभिन्न स्थानमा यातायातका साधन सडकमै रोकिएका स्थानीय नरबहादुर क्षेत्रीले बताए ।

कालीगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधन ठप्प छन् । सडक अवरुद्ध भएपछि दक्षिणी क्षेत्रमा सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ११:१४
Weather Update