
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।
सन्दीप प्रतिवादी रहेको बलात्कार मुद्दाको पेसीमा कुनै फेरबदल नआए बिहीबार नै मुद्दाको किनारा लाग्ने भएको हो । उनीविरुद्धको मुद्दामा आरोपित पक्षले पीडित भनिएकी किशोरीको उमेरमा विवाद हुँदा मुद्दा लम्बिएको थियो ।
यसअघि सर्वोच्च अदालतले सन्दीपलाई थुनामा राखिरहनु नपर्ने भन्ने आदेश दिएको थियो । सो आदेशमा उनी विदेशमा खेल खेल्न जान पाउनेसम्मको सहजता दिइएको थियो ।
सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भन्दै आदेश दिएपछि काठमाडौं जिल्ला अदालतले बिहीबारका लागि अन्तिम सुनुवाइको मिति भनेको हो ।
उक्त सुनुवाइपछि सन्दीपले अभियोग दाबीबाट सफाइ पाए एसिया कप खेल्न जान पाउने छन् । दोषी ठहर भएमा जेल जानु पर्ने छ ।
एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १७ सदस्यीय टोली घोषणामा सन्दीपको नामसमेत समावेश गरेको छ ।
प्रतियोगिता आगामी अगष्ट २७ देखि सेप्टेम्बर ११ गतेसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ ।