News Griha :: न्यूजगृह
जमिन भासिँदै गएपछि गोरखाको खानीगाउँ पहिरोको जोखिममा

गोरखा— उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराेको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ ।

‘वि.सं.२०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो’,उपाध्यक्ष गुरुङले भनिन्,‘केही दिनअघि परेको वर्षाले झन जोखिमपूर्ण बनेको छ ।’

वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्रि भागमा चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ । घरभित्र एक बित्तासम्म चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेका उनले बताइन् ।

‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ’, उपाध्यक्ष गुरुङले भनिन्,‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ ।’

पहिरोको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका उनको भनाइ छ ।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन् । बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०७:५९
Weather Update